नव सन्यासको सुरु भएको दिन आज , नेपाल विश्वको राजधानी

166Shares

सन्यास भन्ने बित्तिकै घरवार, परिवार, सम्पूर्ण कामधन्दा छोडेर अरुमा आश्रित रहेर भिक्षा मागेर खाँदै साधना गर्ने वा जिउने भन्ने बुझाइ साधारण जनमानसमा थियो। सनातन हिन्दुधर्मले सन्यासलाई चारभागमा विभाजन गरेको थियो। ती हुन् अध्ययन, गृहस्थ, वानप्रस्थ, र संन्यास। आफ्नो जीवनको २५ वर्षसम्म कुनै गुरुको सानिध्यमा रहेर अध्ययन गर्छ। २५ देखि ५० वर्षसम्म विवाह गरी पारिवारिक जिम्मेवारी निभाउँदै गृहस्थ जीवनमा बिताउँछ। ५० देखि ७५ वर्षको समयममा घरमै बसेर आफ्नो छोरा छोरीको गृहस्थ जीवनमा मार्गदर्शन गर्छ तर उसको मन जहिले पनि वनमा हुन्छ, संन्यास तर्फ मोडिन्छ, भने ७५ वर्षको उमेरमा अब उसको बच्चाहरुको वानप्रस्थ सुरु हुन्छ। उनीहरु आफ्नो बच्चाहरुलाई मार्गदर्शन गर्ने भैसकेका हुन्छन तसर्थ ७५ देखि १०० वर्षको उमेरलाई सन्यास कालमा विभाजन गरिएको थियो।

तर यो समयमा आएर यसरी जिउनु त्यति वैज्ञानिक छैन, समय परिवर्तन भइसकेको छ । मानिस समयको एउटा सीमारेखा भित्र थुनिएर जीवन बिताउन चाहदैनन् तसर्थ सन्यास जस्तो उच्चकोटिको जीवन पद्धति पनि सिमित व्यक्तिहरुले मात्र प्रयोग गर्न पाए। साधारण मानिसमा सन्यासको स्वाद पुग्न सकेन।

विगत शताब्दिका महान् गुरु भगवान् रजनीश (ओशो ) ले संन्यास जस्तो गरिमामय जीवनशैली प्रत्यक घर घरमा पुग्नुपर्छ भनी सन्यासको नयाँरुप अगाडि ल्याए जुन निकै लोकप्रिय भयो जसलाई “नव सन्यास” भनिन्छ। नव सन्यासको बारेमा ओशोले भने, “व्यक्तिको आन्तरिक विकासको लागि आफ्नो जिम्मेवारीबाट भाग्न आवश्यक छैन।” “व्यक्ति संसारमा रहोस तर व्यक्ति भित्र संसार नरहोस्” कसैले ढुंगा समाएर बसेको छ उसलाई ढुङ्गा छोड भन्नु पर्दैन जब उसले हिरा पाउछ ढुङ्गा आफै फ्याकिहाल्छ।

निर्वाण वा मोक्ष प्राप्तिको लागि घर परिवार र जिम्मेवारी छोड्नु आवश्यकता छैन, नेपालको जनकपुरमा जन्मिएका राजा जनकले आफ्नो गुरु अष्टाबक्रको सानिध्यमा उनको केहीबेर प्रवचन सुन्दा सुन्दै निर्वाण प्राप्त गरे उनी राजा पनि भए र ऋषि पनि भए त्यसैले उनलाई राजर्षी भनिन्छ।

विज्ञानले जति प्रगति गर्दै गयो व्यक्तिहरुमा झन् झन् दु:ख, पीडा, अशान्ति, मडारिदै गएको छ । यस पछाडिको कारण एकांकी जीवन पद्धति हो। पश्चिमाहरुले भौतिक प्रगति त गरे तर उनीहरुले आन्तरिक शान्ति प्राप्त गर्न सकेनन्। पैसा र सुख सुविधाको दौडमा करिब करिब पागल भैसकेका छन्, पूर्वीय देशका मानिसभन्दा विक्षिप्त, अशान्त, र अनिद्राले ग्रसित छन् भने पूर्वीय देशका मानिसहरु शान्त त छन् तर भौतिकरुपमा दरिद्रताले ग्रसित छन्। दुवैतर्फ एकांकी जीवन छ। ओशोले यो कुरा राम्रोसंग देखे,अब यसरी मनुष्यको भविष्य छैन भन्ने कुरा राम्रोसंग बुझे र एक नया मनुस्यको परिकल्पना गरे “जोर्बा दि बुद्ध” । जोर्बा जो संसारमा सारा भौतिक सुख सुविधाको पूर्ण उपयोग गर्छ भने बुद्ध जो भित्रबाट पुरै शान्त हुन्छ, सबै दु;खबाट मुक्त रहन्छ। ओशोको नव सन्यास “पूर्व र पश्चिमको जोड हो”, “विज्ञान र धर्मको मिलन हो”,”भौतिकवाद र आध्यात्मवादको संगम हो” ।

सत्यको मार्गमा प्यास भएका मुमुक्षुहरुका लागि आजको दिन सन् १९७० सेप्टेम्बर २६ का दिन ओशोले “नव सन्यास” को सुरु गरे। विश्वभरका लाखौँ व्यक्तिहरु नव सन्यासमा आकर्षित भएर उनको सानिध्यमा आउन थाले। संसारिक भागादौडीमा आफ्ना शिष्यहरुको साधनामा पर्न गएको कठिनाइ ओशोलाई राम्रोसंग बोध थियो तसर्थ उनले सन् १९७४ मा भारतको पुनामा श्रीरजनीश आश्रमको स्थापना गरे। सन् १९६९ मा पटना विश्वविद्यालयमा इन्जिनियरिङ्गको अध्ययन गर्दै गर्दा ओशोको प्रवचनबाट मन्त्रमुग्ध भएका नेपालको जनकपुरका अरुण कुमार सिंह पनि सन् १९७४ मा ओशो को नव सन्यासमा डुबुल्की मारे, उनको नाम रहन गयो “स्वामी आनन्द अरुण”।

आफ्नो गुरुबाट सन्यास लिएर स्वामी आनन्द अरुण ओशोको आदेशमा नेपाल फर्की काठमाडौँ को ताहचलमा रहेको आफ्नो घरको एउटा कोठा ( शयनकक्ष ) बाट “श्री रजनीश आशिष ध्यान केन्द्र” को शुरुवात् गरे। आफ्नो इन्जिनियरको पेसाबाट कमाएको केही पैसाबाट ओशोको पुस्तकहरु खरिद गरेर न्युरोडको पिपलबोट मुनि बिक्रि वितरण गर्न थाले। पुस्तक बिक्रि गर्ने क्रममा ओशोको पुस्तकमा क्रान्तिबीज, नारी और क्रान्ति जस्ता शिर्षकले गर्दा तत्कालीन पञ्चायती सरकारले उनलाई लगेर थुन्यो तर उनको विनम्रता र पारिवारिक पृष्ठभूमिका कारण पुस्तक जफत गरी छाडिदियो। तर पनि उनले कत्तिपनि हरेस नखाई निरन्तर आफ्नो साधना र गुरुको कार्यमा अगाडी बढे। स्वामी आनन्द अरुणसंगको संगतबाट प्रेरित भई नेपालबाट उनीसंगै पुना गएर संन्यास लिनेको संख्या बिस्तारै बढ्न थाल्यो।

ओशो सन् १९८१ मा अमेरिका प्रस्थान गरे र ओरेगन राज्यमा ६४००० एकड जमिनमा रजनीशपुरम नामक भौतिक सुविधा सम्पन्न आध्यात्मिक सहर नै निर्माण गरे। उक्त सहरलाई चार वर्षमै अमेरिकी सरकारले तोडेर ओशोलाई जेलमा राख्यो।यतिमात्र नभएर उनलाई जेलमै बिष खुवाई अन्तत: भारत फिर्ता पठायो। विश्वभर ओशोको करिब ५०० आश्रमहरु खुलिसकेका थिए भने लाखौं व्यक्तिहरुले सन्यास लिइसकेका थिए। सन् १९८६ मा ओशो नेपाल आए जसको सारा व्यवस्था स्वामी आनन्द अरुणले गरेका थिए। स्वामी आनन्द अरुणलाई १९८४ मा ओशोले आफ्नो ध्यानको मुभमेन्ट अगाडि बढाउनका लागि “रजनीश मिस्ट्रि स्कुल” को निर्देशक र बोधिसत्त्व घोषणा गरेका थिए। ओशोको नेपाल बसाइकै क्रममा स्वामी आनन्द अरुणले ओशोलाई भेटी तपाईको “हत्याको षडयन्त्र” भैरहेको छ भनेर समेत जानकारी गराएका थिए।

अचानक सन् १९९० मा ओशोको रहस्यमय मृत्यु भयो। ओशो जस्तो गुरुको शरीरलाई १५ मिनट मात्र बुद्धहलमा राखी हतार हतार जलाइयो। ओशो आफैले आफ्नो शरीरलाई नजलाउन भनेका थिए। उनको हेडक्वाटर व्यवस्थापन मै ओशोको ध्यान र नव सन्यास विरोधी व्यक्तिहरु जम्मा भैसकेका थिए। बोधिसत्त्व स्वामी आनन्द अरुण र मा योग लक्ष्मी जस्ता हजारौँ समर्पित शिष्यहरुलाई प्रवेश निषेध नै गरियो। पुनाकै आदेशमा बिस्तारै संसारभर रहेका कम्युनहरु बन्द गर्न थालियो र ओशो शिष्यहरुले सन्यास छोड्दै गएको बोधिसत्त्व स्वामी आनन्द अरुण बताउछन्। ओशोले शरीर छोडेको ३ महिना पछि सन् १९९० मार्च २१ का दिन आफ्नो गुरुको सम्बोधि दिवसको अवसर पारेर ओशो तपोवनको स्थापना गरे।

संसारभरि ओशो कम्युन बन्द गरी नव सन्यासलाई बिदा गर्ने दुष्प्रयास गरेपनि बोधिसत्त्व स्वामी आनन्द अरुणले नेपालमा मात्र एकलाख र नेपाल बाहिर पचास हजार व्यक्तिलाई सन्यास दिएका छन्। ओशो तपोवन सहित नेपालमा चौधवटा कम्युन, सय भन्दा बढी ध्यान केन्द्रहरु र नेपाल बाहिर एकसय कम्युन तथा ध्यानकेन्द्रको स्थापना गरेका छन्। प्रत्यक वर्ष विश्वको ८० देशबाट साधकहरु ओशो तपोवन आउने गर्छन्।

संसारभरि करिब करिब बन्द भैसकेको नव सन्यास पुन: नेपालबाट पुनर्स्थापना भई नेपाल “विश्व नव सन्यासको” राजधानी भएको छ। आज नव सन्यासको अवसरमा साझ ७:१५ देखि बोधिसत्त्व स्वामी आनन्द अरुणको जूम अनलाइनमा सत्संग हुने तपोवन स्रोतले जनाएको छ।

 

 

 

 

 

 

 

 

छुटाउनुभयो कि?

लकडाउनको समयमा पनि घर-घरमा पुग्यो तपोवन, तनाव रहित बनाउन ठूलो योगदान

Facebook Comments
166Shares