धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका –७ कैलालीका ५० वर्षीया, महिला, कञ्चनपुरको भीमदत्त नगरपालिका –१८ का ३२ वर्षीय पुरुष तथा कञ्चनपुरकै बेलडाडी गाउँपालिका –१ का ५५ वर्षीय पुरुष छन् ।
सूचना अधिकारी श्रेष्ठले हाल अस्पतालमा ५९ जना संक्रमितहरुको उपचार भइरहेको जानकारी दिए । जसमध्ये ३ जना भेन्टिलेटरमा, आईसीयूमा १७ जना, अक्सिजन प्रयोग गरिरहेका ३४ जना र अन्य ५ जना रहेको उनले बताए ।
श्रेष्ठका अनुसार बितेको २४ घण्टामा ५ सय ५२ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ४१ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । पोजिटिभ देखिएकाहरुमा धनगढी उपमहानगरपालिका क्षेत्रका पुरुष ७८ र महिला ३५ गरी १ सय १३, कैलालीका अन्य क्षेत्रका पुरुष ४८ र महिला ४३ गरि ९१ जना र कैलाली बाहेक अन्य जिल्लाका पुरुष ३१ र महिला ६ गरी ३७ जना गरेर २ सय ४१ जना रहेका छन् ।