अहिले ठिक एक वर्ष भयो नेपालका उखु किसानहरूले नुनिलो आँसु खसाल्न लागेको पनि ,भनिन्छ नि उखुबाट गुलियो चिया खाने चिनी निस्किन्छ भनेर तर के गर्ने त्यै किसानहरूले आज नुनिलो आँसु निकालेका छन् ।स्कुलमा पढ्दा गुरूहरूले पढाउनु भएको थियो ” उखु नगदे बाली हो भनेर” तर त्यो गल्त रहेछ, आज यै देशका उखु किसानहरूले पाँच वर्षसम्म नगद पाएका छैनन् ।सरकार ! चुनाव ताका त खुब भाषण दिएका थियौ त गाउँमा गाउँमा सिंहदरबार भनेर तर के किसानहरूलाई आफ्नो मिहिनेतको फल पाउन नि आज काठमाडौंको सिंहदरबारमा आउनु पर्यो। सरकार किसानको आँसु जमिनमा खस्दा पाप लाग्छ ,सराप लाग्छ ,किसान भनेको साक्षत भगवान् हुन यो नबिर्सौ। जसले तिमीहरू जस्ता भ्रष्टलाई पालेका छन् ,उहीँ नै आज भोकै आफ्नो मिहिनेतको फल पाउन यो चिसोमा सडक सडकमा हिडिराख्नु परेको छ।
अरू देशमा किसानहरूलाई कृषि गर्न प्रोत्साहन गरिन्छ तर मेरो देशमा काम गरेर खान पनि धौधौ गराउँछन् ।अघिल्लो वर्ष मन्त्री ज्युहरूले हामी दिलाउछौ ,तपाईहरूलाई पैसा भनेर खोक्रो आश्वासन देखाए तर केही गरेनन् ,तर मन्त्रीज्यु यो पटक यी किसानहरू सुन्ने छैनन् ती आश्वासन। किन मन्त्री ज्यु यो सरकार किसानको हो कि किसान माराको? सरकार एक पटक किसान बिनाको देश कल्पना मात्र गर त कस्तो हुन्छ? सायद कल्पना नि गर्न धौधौ हुन्छ । अनि त्यै किसानहरूलाई बारम्बार सताउदाँ तिनिहरूको सराप नलाग्ला त? मन्त्री ज्यु तपाईहरूले ठूलाठूला चन्द्रमा छुने गफ हाकी राख्दा किसानहरू सडकमा भोको पेट आफ्नो आन्दोलन हाकी रहेका छन्। कति बिजोग भएको होला कठै ती किसानहरूको गरिखाने बाटो भनेकै त्यै किसानी काम,अनि वर्षैसम्म आफ्नो मिहिनेतको फल नपाएपछि कसरी चलाउने आफ्नो दैनिकी ,कसरी चलाउने घर खर्ची ,तपाईंहरूलाई दुइचार शब्द बोलेकै भरमा घरघरमा पैसा आउँछ,तर यी किसानको त बिजोग छ नि होइन र?
आज हरेक गाउँगाउँमा मन्त्री देखि मेयर ज्युहरू भन्ने गर्नुहुन्छ हे ,युवाहरू अब देशमा नै बस गाउँका जमिनहरू बाँजो रह्यो कृषिमा क्रान्ति लिएर आउनुपर्छ भनेर तर ,यदि हाम्रो पनि हालत यस्तै उखु किसानको जस्तो भयो भने त बिजोग हुदैन र महोदय ?अझ भएन भनेर नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने भनेर नारा लगाइयो तर त्यै नारा आज उल्टो भयो र आफ्नो मिहिनेतको फल पाउन सडकमा नारा लगाइयो।खुब दुई तिहाइ मजबुत सरकार भनेर फुई लगाउने सरकारले जाबो एउटा चिनी उद्योगीहरूलाई तह लगाउन सक्दैन भने ,त्यो जाबो सरकारको के काम? आखिर यो देश मन्त्री चिनेका बिचैलिया को लागि मात्र बाच्न सक्ने देश रहेछ हामी जस्ता किसानका लागि यो देशमा ठाउँ नै रहेन्छ।त्यसैले हे सरकार यदि किसानको सरकार हो भने किसानको पसिनामा नुहाउनेलाई छिटोभन्दा छिटो कानुनको दायरामा लिएर आउनु पर्यो।