हामी आस्तिक कि नास्तिक ?

56Shares

कृपा घिमिरे

सात अरब जनसंख्या रहेको पृथ्वीमा अधिकांश मानिसहरु भगवानप्रति आस्था राख्छन | धर्म अनुसार हेर्ने हो भने हिन्दु, बौद्ध , इसाई, शिख र अन्य धर्महरुमा विभाजित भएपनि मानिसहरु कुनै न कुनै देवी देवताप्रति समर्पित छन् | १,४७,५१६  किलोमिटर  क्षेत्रफल ओगटेको  दक्षिण एसियाको सानो र सुन्दर राष्ट्र नेपालमा बस्ने हिन्दु धर्मावलम्बीहरुको भगवानप्रतिको विश्वास, श्रदा र आफूलाई आस्तिक भन्ने दाबी भने मलाई बडो अचम्मको लाग्छ |

 मैले यस पृथ्वीमा पाइला टेकेको पनि सोह्र वर्ष भै सकेछ | सोह्र बर्षमा  म आफुमा थुप्रै कुराहरु परिवर्तन भए, केवल एक प्रश्न बाहेक त्यो हो ” के म  नास्तिक हुँ ?” | मेरो  बालककालमा  मेरो आमाले  मलाई हात समातेर उहाँसङ्गै  मन्दिर लैजानु हुन्थ्यो | म पनि भर्खरै उम्रिएका आफ्ना कलिला दाँत देखाउदै खुसीका साथ उहाँसंग मन्दिर जान्थें | मन्दिर वरिपरिको  रमणीय वातावरण हेर्दा सार्हे  आनन्दित र खुशी  लाग्थ्यो| | जब म मन्दिरमा श्रदालु  भक्तजनले धर्मको नाममा  भगवानको मूर्तिमा दुध खन्याइरहेको दृश्य देख्थें, तब मलाई अचम्म  लाग्थ्यो | मेरो बाल मष्तिकमा ‘मूर्तिको ढुंगामा दुध किन पोखेको होला “  भन्ने प्रश्नले सताई रहन्थ्यो  तर  कसैलाई सोध्ने आँट भने हुँदैनथ्यो | अहिले आएर थाहा भयो आस्तिक महानुभावहरुले इश्वरप्रतिको आफ्नो आस्था दर्शाउन ढुंगाको मूर्तिमा पोषणयुक्त दुध खन्याउनु हुँदोरहेछ, दुध मात्र नभएर फलफूल समेत चढाउनु हुँदोरहेछ। यदि त्यो निर्जीव मूर्तिले दुध र फलफूल खाइदिन्थ्यो भने मलाई आस्तिक महानुभावहरुको यो विश्वासमा  कुनै पनि आपत्ति थिएन तर  के गर्नु मूर्तिले खाइदिदैन |अझ त्यस भन्दा बढि त  मन्दिरमा चढाएका चिजहरुको  उचित रुपमा प्रयोग  हुन नसकेर ढल वा  नालीमा  यत्रतत्र बगिरहेको आफ्नै आँखाले प्रत्यक्ष रुपमा देख्दा अनि  मन्दिर बाहिर बसेका असहाय, अनाथ, दिनदु:खी र पीडित मानिसहरु जो आफ्नो शरीरलाई थोत्रा, फोहोर कपडाले बेरेका र कैयौं दिनदेखि भोकभोकै बस्न बाध्य अनि  खुला आकाशलाई आफ्नो घर सम्झेर जीवन बिताइरहेका छन्, यस्तो अवस्था  देख्दा मन भक्कानिएर आउँछ |

मन्दिर संसारमा सबै बिरानो लाग्दा, दु:खमा पर्दा, के गरौँ हुँदा र कतै पनि जाने  ठाउ नहुँदा मात्र भगवानको मूर्तिसामु गएर पीडा पोख्न र मन शान्त  बनाउनका निम्ति निर्माण गरिएको  केन्द्र  होंइन बरु मन्दिर त आफ्नो मोक्ष प्राप्तिको खोजमा  जीवनभर हजारौं  साधक, गुरुहरु र उनीहरुका शिष्यहरू साधना गरेर सिञ्चित गरेको पवित्र बुद्धक्षेत्र हो, मुमुक्षुहरुको साधना स्ठल हो, जहाँ प्रवेश गर्ने बित्तिकै मनुष्य पीडा स्वत: शान्त हुन्छ ।  मानिसहरु भगवानलाई दुध, फलफुल, पेडा, मिठाई खुवाएर आफूलाई धर्मात्मा, दानवीर र आस्तिक प्रमाणित गरिरहेका हुन्छन | गरिबी र भोकमरीले मानिस मारिरहेको बेला ईश्वर खुशी पार्न भनेर चढाइएका ती  देवताका प्रसाद त केवल अचेतन र विवेकहीन क्रियाकलाप मात्रै हुन् | जीवनमा विवेकहीन र नराम्रा काम गर्ने, अनि धर्मको नाममा चारधाम जाने आस्तिक महानुभावहरुको गज्जबको आस्तिकपना छ| सुनपानी, गौमुत्र घरको भित्तामा छर्किएर शुद्धीकरण  गर्नेले आफ्नो मनभित्र जमेर बसेको नकरात्मक भाव, अरुप्रतिको घृणा चाहिँ कहिले शुद्धीकरण गर्ने ? देवभक्ति र परमेश्वर प्राप्तिको वास्तविक उदेश्य  अन्न, दुध, फलफुल, पेडा, मिठाई सडाउने, कुहाउने र ढल नालीमा पठाएर, वातावरण प्रदूषण गराउने भन्ने होइन नै होला | आत्माजागरण, चेतनाको विकास र शुद्धीकरण नै मानवीयताको पहिलो सूचांक हो | बरु  सेवा नै धर्म हो भन्ने सत्यतालाई  मनन गर्दै  अनाथ, असाहय र वृद्धवृद्धा आवश्याकता अनुसार सहयोग गर्ने हो | मानवीय सेवा र सहयोग नै भगवानको खुशी र उनीप्रतिको  सच्चा भक्ति हो | गीता, कुरानमा उल्लेख नभएको छुवाछुत, महिनावारी र मठमन्दिर प्रवेश निषेधजस्ता विभेदलाई धर्मको नाम दिई त्यसका पालकपोसक महानुभावहरुलाई आस्तिक र धार्मिक सम्झने हाम्रो समाजलाई मैले आस्तिक कि नास्तिक के हो भनेर कसरी चिन्ने र जान्ने ?  मानव जीवनमा सुखशान्ति, सदभाव र समृद्धि त हाम्रो चेतना, जागरण र विवेकशीलताले आउँछ अनि त्यसमा नै शान्ति र आनन्द प्राप्ति हुन्छ। भगवान त त्यति खेर प्रसन्न हुनेछन् जब गरिबी र भोकमरीले पिल्सिएका मान्छेहरुले छुटकारा पाउने छन् अनि चेतनाको विकासले मानवीय मूल्य र मान्याताको सम्मान हुनेछ|

धापासी, काठमाडौँ

Facebook Comments
56Shares