नरेन्द्र मोदी भारतको चौथो सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री

0Shares

जवाहरलाल नेहरू, इन्दिरा गान्धी र  मनमोहन सिंह पछि प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार (अगस्ट १३) देखि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन्।

तर प्रधानमन्त्री मोदी काङ्ग्रेस इतर दलबाट सबैभन्दा बढी समय भारतको सरकार प्रमुखका हैसियतमा सेवा गर्ने पहिलो राजनेता बनेका हुन्।

मोदीले उनकै दल भारतीय जनता पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पछाडि पार्दै गैर–काङ्ग्रेस दलबाट सबैभन्दा बढी प्रधानमन्त्री बन्ने इतिहास बनाएका हुन्।

नरेन्द्र मोदीले  सन् २०१४ को मे २६ मा भारतीय १४ औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए। उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा सुरू भएको हो। 

भारतको इतिहासमा सबैभन्दा लामो अवधि प्रधानमन्त्री बन्ने नेता जवाहरलाल नेहरू हुन्।

उनको कार्यकाल झण्डै १७ वर्ष रहेको थियो। उनकी छोरी तथा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले क्रमशः ११ वर्ष र करीव पाँच वर्ष गरी दुई कार्यकालमा १६ वर्ष प्रधानमन्त्री बनेकी थिइन्।

त्यस्तै काङ्ग्रेस नेता डा.मनमोहन सिंह लगातार दुई पटक पाँच वर्षको सेवा गरी भारतीय इतिहासमा तेस्रो लामो समय प्रधानमन्त्री भएका व्यक्ति हुन्।

मोरारजी देसाई (मार्च २४ १९७७–जुलाई २८, १९७९), चरण सिंह (जुलाई २८,१९७९– जनवरी १४, १९८०), विश्वनाथ प्रताप सिंह (डिसेम्बर २, १९८९–नोभेम्बर १०, १९९०), चन्द्रशेखर (नोभेम्बर १०,१९९०–जुन २१, १९९१), एचडी देवेगौडा जुन १, १९९६– अप्रिल–२१, १९९७) र इन्दर कुमार गुजराल –अप्रिल २१, १९९७– मार्च १९, १९९८)  आफ्नो कार्यकाल पूरा नगरेका काङ्ग्रेस इतरका अन्य प्रधानमन्त्रीहरू हुन्।

नरेन्द्र मोदी भारतको ७४ औं स्वतन्त्रता दिवसको दुई दिन अगाडि सबैभन्दा लामो सेवा गर्ने चौथो प्रधानमन्त्री बनेका हुन्।

यही अगस्ट १५ मा उनले भारतीय प्रधानमन्त्रीका रूपमा स्वतन्त्रता दिवसका अवसरमा लालकिल्ला (रेड फोर्ट) परिसरबाट सातौँ सम्बोधन गर्नेछन्।

Facebook Comments
0Shares