योगीराज श्रीअरविन्द

1Shares

Bodhisatwa Swami Anand Arun , Founder of Osho Tapoban बोधिसत्त्व स्वामी आनन्द अरुण

प्रतिभाहरू जन्माउन बङ्गालको भूमि बडो उर्वर छ । खासगरी विगत दुई शताब्दीमा बङ्गालले अनेक प्रज्ञापुरुष जन्मायो । श्रीरामकृष्ण परमहंस, स्वामी विवेकानन्द, श्रीअरविन्द, परमहंस योगानन्द, रवीन्द्रनाथ टेगोर, सुभाषचन्द्र बोस, आनन्दमयी माँ आदि । १५ अगस्त भारतको स्वतन्त्रता दिवसमात्रै होइन, आधुनिक युगका एक महानतम् योगी श्रीअरविन्दको जन्मदिन पनि हो। श्रीअरविन्द पूर्वीय संस्कृतिका यस्ता प्रतिभा हुन् जसको समस्त अध्ययन र हुर्काइ पाश्चात्य परिवेशमा भएको थियो।

श्रीअरविन्दका पिता डाक्टर कृष्णधन बोस बेलायतमा प्रशिक्षित डाक्टर थिए । पाश्चात्य संस्कृतिबाट उनी यति प्रभावित थिए कि आफ्ना सन्तानलाई बाल्यकालदेखि नै पश्चिमी शिक्षा दिन र सोही परिवेशमै हुर्काउन चाहन्थे। श्रीअरविन्दको जन्म १५ अगस्त १८७२ मा ब्रह्ममुहूर्तको समय ४ः१५ मा भयो । सुरुदेखि नै घरमा अंग्रेजी भाषा र सभ्यता सिकाइयो । ५ वर्षको उमेरमै दार्जीलिङको लोरेटो स्कुलमा राखियो र ७ वर्ष लागेपछि इंगल्याण्ड पठाइयो । उनले म्यान्चेस्टेर र क्याम्ब्रीजको सेन्ट पाल कजेलमा १४ वर्षसम्म अध्ययन गरे। १८९२ मा उनले भारतीय नागरिक सेवा आई.सी.एस.को सर्वोच्च परीक्षा प्रथम स्थानमा पास गरे तर भारतको स्वतन्त्रताको लागि लड्ने अग्रज व्यक्तिहरू उनको राम्रो परिचय भइसकेको र राष्ट्रपे्रमको प्रबल भावना उनमा जन्मिसकेको हुनाले अंग्रेजको प्रशासक भई उनले कार्य गर्न रुचाएनन् र सो परीक्षाको अन्तिम घोडचढीको जांचमा जानाजानी अनुपस्थित भई उक्त सेवाबाट बाहिरिए । बेलायत प्रवासकै बेला उनी ‘लोटस र शोर्ड’ नामक क्रान्तिकारी, अर्धभूमिगत संस्थाको सक्रिय सदस्य बनेका थिए । सोही समयमा बडोदा महाराजा गयेकवार्डलाई बेलायतमा भेटे र महाराजाले उनलाई भारत फर्की बडोदाको सेवामा प्रवेश गर्न आग्रह गरे।

सन् १८९३ मा श्रीअरविन्द पाश्चात्य जगतको सबैभन्दा प्रतिष्ठित शिक्षा प्राप्त गरी भारत फर्किए र बडोदा राज्यमा विभिन्न पदमा रही ९ वर्ष सेवा गरे। यही समयमा उनको भारतीय संस्कृति, योग र स्वतन्त्रता संग्रामस“ग राम्रो परिचय भयो। बडोदा प्रवासका दिनहरूलाई केलाउंदा हामी उनको जीवनका ३ वटा महत्वपूर्ण घटनाहरू पाउँछौ ।


पहिलो, १९०१ मा उनले जीवनमा विवाहको आवश्यकता अनुभव गरे र बंगाली पत्रिकाहरूमा विज्ञापन गरी आवेदकहरूमध्ये १४ वर्षीया मृनालिनीदेवीसंग गैरपारम्परिक साधारण ढंगले विवाह गरे। दोस्रो, उनी भारत स्वतन्त्रता सङ्ग्रामका अग्रज नेताहरूस“ग व्यक्तिगत सम्पर्कमा आए र सशस्त्र क्रान्तिकारीद्वारा भारतलाई स्वतन्त्र गर्न सक्रिय भए । तेस्रो, अति सक्रिय जीवन हुँदाहुँदै पनि सञ्चित संस्कारले उनको योग र ध्यानमा रुचि बढ्दै गयो र मार्गदर्शनका लागि उनी गुरुको खोजमा लागे । सोही खोजको फलस्वरूप महाराष्ट्रका योगी विष्णुभाष्कर लेलेलाई भेटे। लेलेले अरविन्दको उच्च संस्कार हेरी उनलाई आफूसंग साधनाका लागि केही समय एकान्तमा बस्न आग्रह गरे। अरविन्दको सकृय जीवनमा त्यो सम्भव थिएन तर उनले तीन दिनको समय निकाली लेलेसंग एकान्त साधनामा बसे। तीन दिनकै छोटो साधनामा श्रीअरविन्दलाई ध्यानको गहिरो अनुभूति भयो । उनले विचारशून्य चैतन्यको अनुभव गरे र उनलाई साक्षीभाव प्राप्त भयो, जुन प्राप्त गर्न साधकहरूलाई वर्षौं लाग्छ । त्यो देखेर लेले अति प्रभावित भए र श्रीअरविन्दलाई सब काम छोडी पूरा समय योग र ध्यानका लागि निकाल्न आग्रह गरे तर श्रीअरविन्द भारतलाई परतन्त्र छाडी साधनामा लाग्नुलाई पलायन मान्थे र यसका लागि उनी तयार भएनन्। व्यस्त जीवन भए पनि नियमित योग, ध्यानका लागि उनले समय निकाले। ध्यानकै प्रयोगमा उनलाई भित्रबाटै पे्ररणा र निर्देशनहरू आउन थाले। उनले सबै अनुभूतिहरू लेलेलाई बताए र लेले बडो आनन्दित भए । उनले अरविन्दलाई भने, ‘यदि तिमीलाई आफ्ना अन्तर्निर्देशहरूमा पूर्णश्रद्धा छ भने अब बाहिरी गुरुको आवश्यकता छैन ।’


बङ्गाल त्यसबेला क्रान्तिकारीहरूको सक्रिय थलो थियो र त्यसमा अझ प्रभावकारी भूमिका खेल्न श्रीअरविन्द बडोदा छोडी १९०६ मा कोलकाता आए । जीविकाका लागि उनले बङ्गाल नेसनल कलेजमा प्रिन्सिपलको पद स्वीकार गरे तर उनको अधिकांश समय क्रान्तिकारीहरूलाई प्रेरणा दिन, संगठन र पत्रिकाहरूको सम्पादन गर्नमा बित्थ्यो। सन् १९०८ मा अंग्रेज जिल्ला अधिकारी किंगस्फोर्ड परिवारको हत्या भएको बमकाण्डमा उनलाई पनि मुछियो र ५ मईमा उनी पक्राउ परी अलीपुर जेलको कालकोठरीमा थुनिए । सुरुमा त अरविन्दलाई आश्चर्य लाग्यो। ‘प्रभु, यो के भइरहेको छ ?’ उनले आफ्नो ह्दयस्थ भगवानलाई सोधे। ‘पर्ख र हेर’ भन्ने अन्तरआवाज आएपछि उनी ढुक्क भए ।


योग र ध्यानप्रति पूरै समर्पित हुन उनलाई आफैंभित्रबाट र लेलेद्वारा पनि बारम्बार निर्देश भएरहेको थियो तर सक्रिय राजनीतिक जीवन, कलेजको अध्यापन, विभिन्न पत्रपत्रिकामा लेखन र सम्पादनका बीच अरविन्दले साधनाको लागि पर्याप्त समय निकाल्न पाइरहेका थिएनन् । कालकोठरीको त्यो प्रवास यस अर्थमा उनको साधनाका लागि वरदान सावित भयो। गीता र उपनिषद्को अध्ययन र गहन आत्मसाधनाले जेलको कोठालाई उनले साधनाको गुफामा परिणत गरे । आफूलाई एक वर्ष जेलमा राखेबापत अरविन्दले अंग्रेजहरूलाई धेरै धन्यवाद दिएका छन् किनभने त्यो एकान्त साधना बाहिर सम्भवै थिएन ।


अलिपुर जेलमा साधनास्थ उनलाई पहिलोचोटि पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त भई शरीर माथि उठेको अनुभव भयो । जेलमै १५ दिनसम्म लगातार उनले स्वामी विवेकानन्दका आवाज र स्पष्ट निर्देशनहरू सुन्थे जबकि स्वामी विवेकानन्दले ६ वर्षअगाडि नै शरीर छोडिसकेका थिए । जेलजीवनमै योगको माध्यमले उनीमा अनेक सुषुप्त प्रतिभाहरूको जागरण भयो।


उनको जेलकोठरीेअगाडि एक कदमको रूख थियो । त्यसको मुनि श्रीअरविन्दलाई साक्षात् वासुदेव श्रीकृष्णको दर्शन भयो र वासुदेवले पनि अरू सबै काम छोडी अन्तःसाधनामा लाग्न आदेश दिनुभयो । अरविन्दको मनमा त्यहा“ पनि भारतको स्वतन्त्रताको प्रश्न उठ्यो। वासुदेवले आश्वस्त पार्नुभयो, ‘भारतको स्वतन्त्रताको जिम्मा म लिन्छु, तिमी एकान्त साधनामा लाग । भारतको स्वतन्त्रता तिम्रो जन्मदिनको उपहार भएर आउनेछ ।’ एक वर्षपछि जब श्रीअरविन्द जेलबाट छुटे, प्रतिभाशाली,क्रान्तिकारी र कलममा आग्नेय शक्ति भएका विद्रोही नेता अन्तर्मुखी योगी भइसकेका थिए ।

यो लेख बोधिसत्त्व स्वामी आनन्द अरुणको सन्त दर्शन पुस्तक बाट साभार गरिएको हो, पुरा पुस्तक अध्ययनको लागि नजिकको पुस्तक पसल तथा ओशो केन्द्र हरुमा उपलब्ध छ वा लुम्बिनी जागरणको इमेल र मोबाइलमा सम्पर्क गर्न सक्नु हुन्छ

Facebook Comments
1Shares