५० को दशकको मध्यतिरबाट नेपालमा एफएम रेडियो स्टेशनहरू खुल्न थाले । त्यसअघि रेडियो नेपालको विकल्प थिएन । एफएम रेडियो स्टेशनहरू स्थापना हुन थालेपछि नेपाली गीत–संगीतको क्षेत्र पनि फराकिलो हुन थाल्यो । एफएम रेडियोहरूले सूचना एवं जानकारीमुलक कार्यक्रमका साथै गीत–संगीतका कार्यक्रमहरू पनि प्रसारण गर्न थाले । यसले गायक-गायिकामा एकप्रकारको उत्साह सिर्जना गर्यो ।
रेडियो नेपालबाट गीत बज्न एउटा विशेष प्रक्रिया पूरा गर्नु पथ्र्यो र त्यो प्रक्रिया हो, स्वर परीक्षा उत्तीर्ण गर्नुपर्ने । रेडियो नेपालले बर्सेनि लोकगीत र आधुनिक गीत प्रतियोगिता आयोजना गर्छ । ती प्रतियोगितामा उत्कृष्ठ हुनेहरू स्वतः स्वर परीक्षा उत्तीर्ण हुन्छन् । त्यसबाहेक बेला–मौकामा छुट्टै स्वर परीक्षा पनि हुन्छ । गायक-गायिका बन्ने उत्कट चाहना बोकेका केहीले स्वर परीक्षा उत्तीर्ण नगरे पनि गीतका एल्बम निकाल्थे र बजारमा बिक्री गर्थे । केहीले चाहिँ राम्रो स्वर हुँदाहुँदै पनि सांकेतिक विरोधस्वरूप रेडियो नेपालको स्वर परीक्षा दिँदैनथे ।
बाध्यात्मक परिस्थितिका कारण गुलाम अलीको ‘गाजालु ती ठुला–ठुला आँखा’ टुक्रा–टुक्रा गरेर रेकर्ड गरिएसँगै नेपालमा गीत रेकर्डिङको प्रविधिले फड्को मारेको हो । त्यसअघिसम्म सबै गीतको रेकर्ड ‘एनालग’ प्रविधिबाट हुन्थ्यो । बाजा बजाउने, गीत गाउने सबै एकैपटक स्टुडियो छिर्थे । एक जनाले सानो गल्ती गर्यो भने पनि पूरै गीत फेरि गाउनु पर्ने । वाद्यवादकले बाजा बजाउनु पर्ने बाध्यता थियो ।
डिजिटल फम्र्याटमा गएसँगै ‘टेक’ सुरु भयो । जति टेक लगाएर पनि गाउन, बजाउन सक्ने अवस्था सिर्जना भयो । गीतको ट्रयाक तयार पारेर गायक-गायिकाले घरमै लगेर केही दिन वा समय अभ्यास गरेर गाउन सक्ने अवस्था आयो । एकपटक मिलेन भने दुई-तीन गर्दै धेरैपटक गाएर राम्रो चाहिँ छान्न मिल्ने प्रविधिको विकास भयो । त्यसमा पनि नमिलेको वा केही बेसुरा स्वरलाई अटो ट्युन गरेर अत्यन्तै राम्रो बनाउन मिल्ने प्रविधि भित्रियो ।
एफएम रेडियोहरूले भएका र आएका सबै गीत बजाउन थालेपछि रेडियो नेपाल पनि गीत बजाउन केही उदार भयो । तर गीत–संगीतमा विकृति पनि यहीँबाट सुरु भयो । एकपछि अर्को आरजेहरू स्वघोषित अब्बल गीतकारका रूपमा देखापर्न थाले । गीत, संगीत बुझेका अब्बल गीतकारहरू विस्तारै ओझेल पर्न थाले । ‘सुको’ पेल्न सक्नेहरू हिट हुन थाले । साधकहरू सुस्ताउन थाले । अटो ट्युनले जसलाई पनि अब्बल गायक-गायिका बनाइदियो ।
गीत र स्वरभन्दा पनि बाजागाजा चल्न थाले । स्वर त छैन तैपनि स्टेज कार्यक्रमको अफरको ओइरो लाग्न थालेपछि गायक-गायिकाले क्यासेट तथा सिडी बजाएर लिपसिङ मात्र गर्न थाले । भुलेर ट्रयाक मात्र लाँदा गीतका शब्द नै बिर्सिने, बेसुरा गाउने प्रशस्त हुन थालेपछि एउटा भनाइ निकै चर्चित बन्न पुग्यो । त्यो भनाइ हो, ‘लता मंगेस्कर भुलेर पनि बेसुरा गाउँदिनन्, नेपाली गायक-गायिका चाहेर पनि सुरमा गाउन सक्दैनन् ।’
रेडियो नेपालमा सिन्डिकेट र बेथिति नभएको होइन तर कम्तीमा स्वर परीक्षा गायक-गायिका बन्न यतिको स्वर हुनुपर्छ भन्ने मानक बनेको थियो । तर स्वर परीक्षा ओझेल पर्दै जाँदा अब्बल स्वर भएका साधकहरूलाई पनि आम श्रोताले एउटै भाँडोमा राखेर हेर्ने अभ्यास भयो । जसका कारण प्रत्यक्ष मार उनीहरूलाई पर्यो ।
पचासको दशकको अन्त्यतिर तत्कालीन समयका चर्चित एक लोकगायक कार्यक्रमको सिलसिलामा कोरिया पुगे । बिचराले ओरिजिनल गीत लान भुलेछन् । ट्रयाक मात्र लगेका कारण लिपसिङले मात्र काम चलेन । सुर लागे पो गाउनु । अन्ततः ती गायक गीत–संगीत क्षेत्रबाटै ओझेल परे । अटो ट्युनले कस्तालाई अब्बल अर्थात् करोड क्लबको गायक-गायिका बनाइदिएको रहेछ भन्ने पछिल्लो उदाहरण दुर्गेश थापा भएका छन् ।
एक गायक वा गायिकालाई सबै गीतका गायक-गायिकाको नाम थाहा नहुनु स्वभाविक हो । त्यसमा पनि उनको गायन प्याटर्न अलग हो । र, उनलाई गीतको भाका ठ्याक्कै नआउनुलाई पनि अस्वभाविक मान्नु पर्दैन । तर कम्तीमा स्वर र सुरको सामान्य कखरा चाहिँ थाहा हुनुपर्छ । प्रत्येक गायक-गायिकाले कम्तीमा स्टेजमा गाउनुपर्ने हुन सक्छ । सबै ठाउँमा लिपसिङले टार्न नसकिने अवस्था आउन सक्छ भन्ने हेक्का राख्न सके दुर्गेश थापाजस्ताको बाढी आउँदैन । र, त्यो बाढी रोक्ने बाँध स्वर परीक्षा हो ।